Rule 146
वैदेशिक तालीममा मनोनयन
: (१) सशस्त्र प्रहरी कर्मचारीलाई बैदेशिक तालीम र सेमिनारको लागी छनौट गर्दा आवश्यक योग्यता पुगेका सम्बन्धित दर्जाका उम्मेद्वारमध्ये देहायका आधारमा   गरिनेछ :–
(क)   सम्बन्धित पदको जेष्ठता,
(ख)  स्वदेशमा गरेको तालीमको नतिजाको योग्यताक्रम,
(ग)   विशेषज्ञ तालीमका लागि प्राप्त सिट भए सम्बन्धित समूह वा उपसमूहको आवश्यकता ।
      (२) उपनियम (१) बमोजिम छनौट हुने आधार पुरा गरेको सशस्त्र प्रहरी कर्मचारी कमाण्डमा रहेको वा अन्य कार्यव्यस्तताको कारण वा अन्य कारणले त्यस्तो तालीममा सहभागी हुन असमर्थ हुने भए निज भन्दा मुनीको सशस्त्र प्रहरी कर्मचारीलाई जेष्ठताक्रम अनुसार छनौट    गरिनेछ ।
(३) उपनियम (१) बमोजिम छनौट गर्दा विदेशी तालीम वा सेमिनारमा सहभागी हुने कम अवसर पाएकालाई प्राथमिकता दिनु पर्नेछ ।
(४) सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई उच्च स्तरको नेशनल डिफेन्स कोर्षको लागि र अन्य अधिकृतहरुलाई स्टाफ कलेज वा गणपती तालीम लगायतका तालीमको लागि छनौट गर्दा जेष्ठता, योग्यता, उमेर तथा प्राप्त हुने सेवा समेतका आधारमा गरिनेछ ।
(५) यस नियम बमोजिम वैदेशिक तालीम वा सेमिनारका लागि उम्मेदवार छनौट गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वा सशस्त्र प्रहरी नायब महानिरिक्षकको अध्यक्षतामा सो कार्यालयका तालीम हेर्ने प्रमुख समेत रहेको समिति गठन हुनेछ र सो समितिले उपनियम (१) बमोजिमको आधारमा उपयुक्त उम्मेदवारको छनौट गरी सशस्त्र प्रहरी महानिरीक्षक समक्ष सिफारिस गर्नेछ ।
(६) उपनियम (५) बमोजिम सिफारिस भएका उम्मेदवारको मनोनयनको लागि सशस्त्र प्रहरी महानिरीक्षकले नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ र यसरी पेश भएकोमा नेपाल सरकारबाट मनोनयन भएका उम्मेदवारलाई वैदेशिक तालीम वा सेमिनारमा पठाईनेछ ।
(७) उपनियम (६) बमोजिम वैदेशिक तालीममा भाग लिई फर्केका सशस्त्र प्रहरी कर्मचारीलाई कम्तीमा एक वर्ष तालीमसँग सम्बन्धित काममा लगाउनु पर्नेछ ।